दलाई लामाको स्पष्ट सन्देश: “म अन्तिम दलाई लामा हुनेछैन”

spot_img

धारमशाला — तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफू पछिका दलाई लामाको पुनर्जन्म सम्बन्धी विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन्। गदेन फोड्राङ ट्रस्टले मात्र आगामी दलाई लामाको पुनर्जन्मको मान्यता दिने अधिकार राख्ने भन्दै उनले अरू कुनै पक्षको हस्तक्षेप अस्वीकार्य हुने चेतावनी दिएका छन्।

उनले बुधबार जारी गरेको वक्तव्यमा भविष्यको दलाई लामाको खोजी तथा मान्यता प्रक्रिया विगतको धार्मिक परम्पराअनुसार नै सम्पन्न गरिने जनाएका छन्। तर प्रक्रिया सार्वजनिक नहुने समेत उल्लेख गरिएको छ।

उनको ९०औं जन्मदिन (जुलाई ६) भन्दा केही दिनअघि आएको यो घोषणा चीन र तिब्बती निर्वासित नेतृत्वबीच दलाई लामाको उत्तराधिकारी चयन विषयमा हुने संभावित टकरावको संकेतका रूपमा हेरिएको छ। चीनले भने पुनर्जन्म प्रक्रिया आफ्नो कानुनी व्यवस्था अनुसार हुनुपर्ने दाबी गर्दै आएको छ।

दलाई लामाको हालै प्रकाशित आत्मकथामा उनले भविष्यका दलाई लामा चीनबाहिर स्वतन्त्र राष्ट्रमा जन्मिने उल्लेख गरेका छन् र चीनद्वारा मनोनीत व्यक्तिलाई अस्वीकार गर्न आफ्ना अनुयायीहरूलाई आग्रह गरेका छन्।

धारमशालामा भेला भएका तिब्बती बौद्ध धार्मिक नेताहरूले पनि चीनको राजनीतिक हस्तक्षेपविरुद्ध वक्तव्य जारी गर्दै “पुनर्जन्मको विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न” चेतावनी दिएका छन्।

दलाई लामाले लामो समयदेखि “मध्य मार्ग” नीति अवलम्बन गर्दै तिब्बतको पूर्ण स्वतन्त्रताको सट्टा संस्कार, धर्म र पहिचान जोगिने गरी सार्थक स्वायत्तताको माग गर्दै आएका छन्। यही शान्तिपूर्ण दृष्टिकोणका कारण सन् १९८९ मा उनलाई नोबेल शान्ति पुरस्कार समेत प्रदान गरिएको थियो।

उनको नेतृत्वले तिब्बती समुदायलाई एकताबद्ध गर्दै तिब्बतको मुद्दालाई विश्व समुदायमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको छ। चीनले भने दलाई लामालाई लगातार अलगाववादी भन्दै आलोचना गर्दै आएको छ।

Advertisement