
सिड्नी — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा न्यू साउथ वेल्स (NSW) राज्य संयोजक पदका लागि राज गुरूङले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। गुरूङले ‘डेमोक्रेट टिम’को नेतृत्व गर्दै आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि आफूलाई समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन्।
एनआरएनए अष्ट्रेलियाको राज्य संयोजक पदमा उम्मेदवारी दिनुअघि राज गुरूङ हाल एनएसडब्लु राज्य परिषद (SCC) मा सह–सचिवका रूपमा कार्यरत छन्। सन् २०१६ मा पत्नी अञ्जु गुरूङसँग अष्ट्रेलिया आएका गुरूङ लामो समयदेखि सामाजिक, संस्थागत र सामुदायिक अभियन्ताका रूपमा क्रियाशील रहँदै आएका छन्। अञ्जु गुरूङ पेशाले रजिस्टर्ड नर्स हुन्। उनीहरूको एक छोरा छन् भने परिवारले छोरीको आगमनको प्रतिक्षा गरिरहेको जनाएको छ।
चितवनको माडी नगरपालिका–१ निवासी गुरूङ विद्यार्थी जीवनदेखि नै नेतृत्वदायी भूमिकामा थिए। भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनले चार वर्षसम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई सचिवको जिम्मेवारी सम्हालेका थिए।
गुरूङको नेतृत्वमा गठन गरिएको ‘डेमोक्रेट टिम’लाई अनुभव, समावेशिता र संस्थागत समर्थनका आधारमा एक सशक्त प्रतिस्पर्धी समूहका रूपमा प्रस्तुत गरिएको छ। टिममा पत्रकार, व्यवसायी, समाजसेवी, महिला, युवा तथा विभिन्न जातीय, भौगोलिक र पेशागत पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता छ। टिमले ‘साझा दृष्टिकोण र सामुदायिक चासो’ लाई मूल आधार मानेर अभियान अघि बढाएको जनाएको छ।

उक्त टिमको निर्माणमा जनसम्पर्क मञ्च अष्ट्रेलिया, एनएडीएफलगायत विभिन्न संघसंस्था र समुदायमा सक्रिय अभियन्ताहरूको सहकार्य रहेको छ। टिमको संरचना जनसम्पर्क समिति अष्ट्रेलियाका केन्द्रीय सभापति सुरेश रानसिंह गुरूङ, उपाध्यक्ष राजेश केसी, एनएसडब्लु संयोजक सीतल गिरी, र टिम संयोजक सत्यराज कडेलको सहमति तथा अगुवाइमा तय गरिएको हो।
उम्मेदवारी घोषणा गर्दै गुरूङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिमा भनेका छन्, “यो निर्वाचन मेरो व्यक्तिगत आकांक्षा होइन, समुदायप्रतिको जिम्मेवारी हो। सबैको सहभागिता र समावेशी नेतृत्वमार्फत अगाडि बढ्ने हो भने हाम्रो जित सुनिश्चित छ।”
उनको भनाइमा, एनआरएनए अब संस्थागत सुधार, समावेशीता, पारदर्शिता र उत्तरदायित्वतर्फ उन्मुख हुनुपर्छ। “हामी यस्तै धारणा बोकेका समान उद्देश्य भएका साथीसँग सहकार्य गर्दैछौं,” गुरूङले उल्लेख गरेका छन्।
जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसीका अनुसार, अष्ट्रेलियामा रहेका डेमोक्रेट समर्थकहरू अहिले विगतका तिक्तता बिर्सेर एकताको भावनामा एकजुट भएका छन्। “राज गुरूङको नेतृत्वमा हामी राज्यदेखि केन्द्रसम्म मजबुत समर्थनसहित अघि बढिरहेका छौं,” केसीले भने।
सशक्त संरचना, साझा दृष्टिकोण, जिम्मेवार नेतृत्व र संस्थागत समन्वयका साथ अगाडि बढिरहेको डेमोक्रेट टिमलाई यो निर्वाचनमा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ। टिमले एनआरएनएलाई थप समावेशी, पारदर्शी, जवाफदेही र समुदायमैत्री संस्था बनाउन कटिबद्धता व्यक्त गरेको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा एनएसडब्लु राज्यमा चुनावी माहोल तातिएको छ। राज गुरूङ नेतृत्वको टिमले अघि सारेको दृष्टिकोण र अभियानले समुदायभित्र सकारात्मक बहस र चासो उत्पन्न गराएको देखिन्छ। अबको दिनहरूमा टिमले आफ्नो रणनीति र एजेन्डा सार्वजनिक रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।
