न्यानोप्रविधिमा आधारित ट्याब्लेट सुरक्षित देखिएपछि परीक्षणको चरणमा प्रवेश गर्दै, सरकारबाट १ मिलियन डलरको अनुदान

सिड्नी — अष्ट्रेलियाली वैज्ञानिकहरूले विकास गरेको एक नवीन इन्सुलिन ट्याब्लेट अब केही महिनाभित्र डायबिटिजका बिरामीहरूमाथि परीक्षण गरिने तयारी गरिएको छ। इन्सुलिन इन्जेक्सनको विकल्पका रूपमा प्रस्तुत गरिएको यस प्रविधिका लागि अष्ट्रेलियन सरकारले प्रारम्भिक परीक्षण र क्लिनिकल ट्रायलका लागि लाखौं डलरको अनुदान प्रदान गरेको छ।
‘एन्डो एक्सिओम’ नामक स्टार्टअपद्वारा विकास गरिएको उक्त ट्याब्लेटमा न्यानोप्रविधिको प्रयोग गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी डा. निकोलस हन्टका अनुसार, “अब हामी पत्ता लगाउन सक्नेछौं कि यो प्रविधि टाइप १ डायबिटिजका बिरामीका लागि कति प्रभावकारी हुन्छ। हामी परीक्षण सुरु गर्न पाउँदा निकै उत्साहित छौं।”
प्रयोगशालामा गरिएको पशु परीक्षणहरूमा यो प्रविधि सुरक्षित र प्रभावकारी देखिएको छ। तीन तहमा संरचित ट्याब्लेटले शरीरमा इन्सुलिनको अवशोषण सहज बनाउने उद्देश्य राखेको छ।
डा. हन्टका अनुसार, यो केवल सामान्य इन्सुलिन ट्याब्लेट मात्र नभई ‘स्मार्ट इन्सुलिन’ हो, जसले बिरामीको रक्तमा भएको ग्लुकोजको स्तर अनुसार प्रतिक्रिया जनाउँछ — ग्लुकोज बढे सक्रिय हुन्छ, घटे निष्क्रिय रहन्छ।
अनुसन्धान टोलीकी सदस्य सोफी काङ आफैँ टाइप १ डायबिटिजबाट पीडित रहेकी छन्। उनले भनिन्, “यसले उपचारलाई सरल बनाउनुका साथै डायबिटिजप्रति समाजमा हुने कलङ्क पनि हटाउन सहयोग पुर्याउने विश्वास लिएको छु।”
मानव परीक्षण सन् २०२५ को सुरुवातदेखि अष्ट्रेलियामै सुरु हुने अपेक्षा गरिएको छ। एन्डो एक्सिओम ती १४ अष्ट्रेलियन मेडिकल स्टार्टअपमध्ये एक हो, जसलाई अष्ट्रेलियन सरकारले नयाँ औषधि तथा उपकरण विकासका लागि कुल १२ मिलियन डलर अनुदान प्रदान गरेको हो।
संघीय स्वास्थ्य मन्त्री मार्क बटलरले भने, “हामीसँग अष्ट्रेलियामा चिकित्सा अनुसन्धानको सशक्त इतिहास छ, तर त्यस्ता धेरै आविष्कारहरू विदेश निर्यात हुने प्रवृत्ति रहिआएको छ। अब यस्ता खोजहरूलाई यहीँको प्रयोगशाला र क्लिनिकमा परिणत गर्न आवश्यक छ।
