
— सांस्कृतिक उत्सवदेखि परोपकारी सेवासम्मको यात्रालाई संस्थागत नेतृत्वमा रूपान्तरण गर्ने लक्ष्य
सिड्नी, अष्ट्रेलिया – अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच विविध सामाजिक, सांस्कृतिक, शैक्षिक र परोपकारी क्रियाकलापमार्फत सक्रिय योगदान दिंदै आएका रोशन भट्टराईले गैर–आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२७ कार्यकालको निर्वाचनका लागि न्यू साउथ वेल्स (NSW) राज्य समन्वयक (State Coordinator) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
सामुदायिक समर्पण र संस्थागत उत्तरदायित्वबीचको सेतु बन्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका भट्टराईले आगामी दिनमा पारदर्शिता, समावेशिता र जवाफदेहितालाई प्राथमिकतामा राख्ने नेतृत्व विकास गर्ने स्पष्ट संकेत दिएका छन्। उनले चाँडै नै अनुभव, विविधता र प्रतिबद्धता बोकेको टिमको औपचारिक घोषणा पनि गर्ने बताएका छन्।
सांगीतिक कार्यक्रममार्फत पहिचानको प्रवाह
सन् २०१४ देखि अष्ट्रेलियामा सांस्कृतिक कार्यक्रम र इभेन्ट म्यानेजमेन्टमा संलग्न रहँदै आएका भट्टराईले नेपाली सांस्कृतिक पहिचानको जगेर्ना र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
उनको संयोजनमा नेपालका चर्चित संगीत समूह १९७४ AD, लोकप्रिय गायक नीतेश जंग कुँवर, सुजन चापागाईं, र सज्जनराज वैद्यका कन्सर्टहरू अष्ट्रेलियाको विभिन्न सहरहरूमा आयोजना भएका छन्। ती कार्यक्रमहरूले प्रवासी नेपाली समुदायलाई सांस्कृतिक रूपमा जोड्ने, सम्बन्ध विस्तार गर्ने र नयाँ पुस्तालाई नेपालीपनसँग जोडिराख्ने कार्यमा सहयोग गरेका थिए।

चलचित्र, शिक्षा र करियर क्षेत्रमा सक्रिय सहभागिता
भट्टराई सन् २०१५ देखि अष्ट्रेलियामा नेपाली चलचित्रको वितरणमा समेत संलग्न छन्। उनकाे व्यवस्थापनमा ‘कबड्डी कबड्डी’, ‘लुट २’, ‘जत्रै जात्रा’, ‘महाजात्रा’ लगायतका नेपाली चलचित्रहरू अष्ट्रेलियामा सफलतापूर्वक प्रदर्शन भएका छन्। चलचित्रमार्फत नेपाल र अष्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यसहित उनी हाल दुई नयाँ नेपाली चलचित्र निर्माणको प्रक्रियामा समेत संलग्न छन्।
शैक्षिक परामर्शमा पनि उनको सक्रियता उल्लेखनीय छ। सन् २०१६ यता उनले अष्ट्रेलिया भित्रिने सयौं नेपाली विद्यार्थीहरूलाई शैक्षिक योजना, भिसा प्रक्रिया र करियर निर्माणमा व्यावसायिक मार्गदर्शन प्रदान गर्दै आएका छन्। विद्यार्थीहरूको स्थायीत्व, आत्मविश्वास र व्यावसायिक सफलता निर्माणमा उनको योगदान समुदायमा उच्च मूल्याङ्कन गरिएको छ।
परोपकारी क्षेत्रको अग्रपंक्तिमा
सन् २०१५ मा नेपालमा गएको विनाशकारी महाभूकम्पपछि भट्टराईले Yes Humanity नामक संस्थामार्फत अष्ट्रेलियाबाट राहत सामग्री, आर्थिक सहयोग र स्वयंसेवक टोली नेपालको प्रभावित क्षेत्रमा पु-र्याउने अभियानमा नेतृत्वदायी भूमिका खेलेका थिए।
नेपालका विभिन्न दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य र बाल संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरूसँग समन्वय गर्दै उनले अष्ट्रेलियामा बस्ने नेपाली समुदायलाई मानवीय सहयोगका साझा उद्देश्यमा संगठित गरेका थिए।
हाल उनी कर्णाली क्षेत्रका पिछडिएका समुदायहरूलाई लक्षित गर्दै स्वास्थ्य सेवा, पोषण, बाल शिक्षा र सामुदायिक विकाससँग सम्बन्धित नयाँ परोपकारी परियोजनाको तयारीमा जुटेका छन्।
संस्थागत सुधारको दृष्टिकोणसहित नेतृत्वको अपिल
उम्मेदवारी घोषणा गर्दै रोशन भट्टराईले भनेका छन्,
“एनआरएनए केवल एक संस्था होइन, यो हाम्रो पहिचान, हाम्रो शक्ति र हाम्रो भविष्यको प्रतिनिधित्व हो। म नेतृत्वको जिम्मेवारी केवल पदको लागि होइन, प्रक्रियागत सुधार, सहभागिता, पारदर्शिता र विश्वासको संस्कृति विकास गर्न चाहन्छु। म तपाईंहरूको मत, विश्वास र सुझावको अपेक्षा गर्दछु।”
उनले एनआरएनएलाई केवल औपचारिक संरचनाको रुपमा नभई समुदायमा प्रभावकारी काम गर्ने, संकटमा साथ दिने, र भविष्य निर्माणमा मार्गदर्शक भूमिका निर्वाह गर्ने संस्था बनाउने अठोट व्यक्त गरेका छन्।
निर्वाचन विवरण
📅 निर्वाचन मिति: २६ जुलाई २०२५
🗳️ पद: एनआरएनए एनएसडब्लु स्टेट कोअर्डिनेटर
👤 उम्मेदवार: रोशन भट्टराई
