
सिड्नी र सेन्ट्रल कोस्टबीचको आवागमनमा प्रयोग हुँदै आएका ऐतिहासिक V-set रेलहरू ५५ वर्षपछि सेवा निवृत्त भएका छन्। “स्टील र्याटलर” भनिने यी बैंजनी सिट भएका रेल सन् १९७० देखि सिड्नी–सेन्ट्रल कोस्ट र सन् १९८४ देखि सिड्नी–न्यु क्यासल रुटमा निरन्तर चल्दै आएका थिए।
न्यू साउथ वेल्सको यातायात विभाग (Transport for NSW) का अनुसार २१ वटा V-set रेलले जम्मा गरेर करिब १४ करोड किलोमिटर यात्रा गरेका छन्, जुन दूरी पृथ्वीबाट चन्द्रमासम्म १७ पटक आउजाउ गर्न सकिने बराबर हो।
आज राति ९:२० बजे सेन्ट्रल स्टेशनबाट छुट्ने रेल सिड्नी–न्यु क्यासल मार्गमा चल्ने अन्तिम V-set हुनेछ, जुन मध्यरातपछि न्यु क्यासल पुग्नेछ।
यातायात मन्त्री जोन ग्राहामले V-set रेल निर्माणमा योगदान दिने सबै श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै भने, “यी रेलहरू सिड्नीमै निर्माण भएका थिए, र वर्षौँ टिकाउ भई सेवा दिएका छन्। अब हामी न्यू साउथ वेल्समै रेल निर्माण उद्योग पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाउँछौं।”
V-set रेलहरू सन् १९७० देखि १९८९ सम्म ग्रानभिलस्थित Commonwealth Engineering द्वारा निर्माण गरिएका थिए।
अहिले बढ्दो मर्मत खर्च र स्पेयर पार्ट्सको अभावका कारण यी रेललाई नयाँ १० डब्बे ‘मारीयुङ’ ट्रेनले विस्थापन गर्दैछ। यद्यपि केही समयका लागि V-set रेलहरू सिड्नी–ब्लू माउन्टेन्स रुटमा सञ्चालनमा रहनेछन्।
