सिड्नीमा डस्टबिन सडकमा राख्न अनुमति लिनुपर्ने व्यवस्था लागू हुन सक्ने

Advertisement

सिड्नी, जुन २५ — सिड्नी सिटी काउन्सिलले सडकछेउ अव्यवस्थित रूपमा डस्टबिन राख्ने बानीलाई नियन्त्रण गर्न अनुमति प्रणाली (Permit System) लागू गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव सिटी काउन्सिलका सदस्य एडम वर्लिङ (Adam Worling) द्वारा सोमबारको बैठकमा प्रस्तुत गरिएको हो।

वर्लिङका अनुसार धेरैजसो बासिन्दाले फोहोर संकलनपछि पनि डस्टबिन दिनौंसम्म फुटपाथ वा सडकमा छाड्ने गरेका छन्, जसले दुर्गन्ध, सडक प्रयोगमा अवरोध, अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि जोखिम, र मुसा तथा फट्याङ्ग्राको प्रजननस्थल बन्ने समस्या बढाएको छ।

उक्त अभ्यासले गलत डस्टबिनमा फोहोर हालिने, अतिरिक्त फोहोर थुपारिने र डस्टबिन पल्टिँदा सार्वजनिक स्थानमै फोहोर फैलिने जस्ता समस्याहरू उत्पन्न गरिरहेको वर्लिङले उल्लेख गरे।

spot_img

प्रस्तावको मुख्य बुँदा:

  • जसको घरमा डस्टबिन राख्न पर्याप्त स्थान छैन (जस्तै: सिधा फुटपाथमा खुल्ने टेरेस घरहरू), ती बासिन्दाले विशेष अनुमति लिएर मात्र डस्टबिन सडकमा राख्न सक्ने व्यवस्था मिलाइनेछ।
  • सबै डस्टबिनमा नयाँ लेबल प्रणाली लागु गरिनेछ, जसमा अनुमति भएको जानकारी र सम्बन्धित घरको ठेगाना उल्लेख हुने व्यवस्था रहनेछ।

वर्लिङले भने, “यदि हामी समुदायलाई सहि व्यवहार गर्न प्रेरित गर्न चाहन्छौं भने, स्पष्ट मार्गदर्शन दिन जरुरी छ।”

उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएसँगै सिड्नी सिटी काउन्सिलले अब कार्यान्वयनको लागि व्यवस्थित योजना तयार गर्ने निर्णय गरेको छ।

यो पहल सिड्नी शहरको फोहोर व्यवस्थापन सुधार कार्यक्रम अन्तर्गतको अंश हो, जसले फोहोरको सही व्यवस्थापन, ल्यान्डफिलमा चाप कम गर्ने, र शहरी सौन्दर्य कायम राख्ने उद्देश्य राखेको काउन्सिलले जनाएको छ।

spot_img