श्रीकेश तेलको उत्पादक सप्तऋषि आयुर्वेद कम्पनीमा काठमाडौं महानगरपालिकाले छापा हानेको छ । आइतबार महानगरको टोलीले मध्य बानेश्वरस्थित कम्पनीको कार्यालय र कारखानामा छापा मारेको हो ।
श्रीकेश तेल बारे सञ्चार माध्यम, सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा समेत गुनासो आएपछि अनुगमन गरिएको महानगरले जनाएको छ । अनुगमनपछि कार्यालय र कारखाना बन्द गरिएको छ ।
महानगरले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन समय दिएको छ । वडाध्यक्षको रोहबरमा कम्पनी आफैंले कारखानामा ताला लगाएको हो । मापदण्ड अनुसार नचलेको हुनाले ताला लगाउनु परेको हो ।
महानगरको निरीक्षण टोलीले ल्याब परीक्षणका लागि तेलको नमुना पनि लगेको छ । नमुना परीक्षणबाट प्राप्त रिपोर्टका आधारमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको भनाइ छ । रिपोर्ट नआउन्जेल तेल बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाइएको छ ।
कपाल झर्न रोक्ने र नयाँ पलाउने भन्दै प्रचार गरिएको श्रीकेश तेलको प्रचार सामग्री पनि काठमाडौं महानगरपालिकाले हटाएको छ । विज्ञापन मापदण्ड विपरीत र वडा कार्यालयबाट लिएको स्वीकृतिभन्दा ठूलो बनाएर प्रचार गरेको भन्दै हटाइएको हो ।