
सिड्नी — अष्ट्रेलियाको सिड्नीस्थित डार्लिङ हार्बरको ICC थिएटर मा सम्पन्न Global Sourcing Expo Sydney 2025 मा नेपालले आफ्ना मौलिक उत्पादनहरूको आकर्षक प्रदर्शनी गरेको छ। गत जुन १७ देखि १९ तारिखसम्म आयोजना भएको तीनदिने प्रदर्शनीमा नेपाली हस्तकला, ढाका, पश्मिना, कपडा तथा सजावट सामग्रीहरूले अष्ट्रेलियाली उपभोक्ता र थोक खरिदकर्ताहरूको ध्यान खिचेका थिए।
नेपालबाट विभिन्न हस्तकला उत्पादक र व्यवसायीहरूले सक्रिय रूपमा सहभागिता जनाएका उक्त प्रदर्शनीमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, न्यू साउथ वेल्सका मानार्थ वाणिज्यदूत संजीव शर्मा, नेपाल सरकारका उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, नेपाल गार्मेन्ट संघका अध्यक्ष पशुपति देव पाण्डे लगायतले नेपाली स्टलहरूको अवलोकन गरेका थिए।
राजदूत यादवले नेपाली संस्कृति र सिर्जनशीलता प्रवर्द्धन गर्ने यस्ता अवसरलाई व्यावसायिक रूपान्तरणमा बदल्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्। वाणिज्यदूत शर्माले अष्ट्रेलियामा नेपाली उत्पादनप्रतिको माग बढ्दो रहेको उल्लेख गर्दै यस्ता प्रदर्शनीहरूले नयाँ बजार खोज्न सहयोग पुग्ने धारणा राखे।

महानिर्देशक ज्ञवालीले यस्ता मेला र प्रदर्शनीहरू नेपाली निर्यात विस्तार तथा “ब्रान्ड नेपाल” प्रवर्द्धनमा योगदान पुर्याउने बताए। अध्यक्ष पाण्डेले नेपाली गार्मेन्ट उद्योगलाई रोजगारी, दिगोपन र सांस्कृतिक पहिचानको संवाहकको रूपमा प्रस्तुत गर्दै यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निरन्तर सहभागिता आवश्यक रहेको बताए।
प्रदर्शनीमा नेपाली सहभागिताले नेपालका उत्पादन र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न थप सशक्त र संगठित प्रयासको खाँचो रहेको तथ्य उजागर भएको छ। नेपालले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई अवसरका रूपमा लिँदै निर्यात र सांस्कृतिक पहिचान प्रवर्द्धनमा भूमिका खेल्नुपर्नेमा विज्ञहरूको जोड रहेको छ।
