
अभिशेक खड्का, अष्ट्रेलियाको सिड्नीस्थित अबन कम्युनिटी सेन्टरमा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समर्पित संस्था नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमकी प्रमुख अतिथि तथा न्यू साउथ वेल्स राज्य सरकारकी सांसद जुलिया फिनले प्रवासमा नेपाली भाषा र संस्कृति जोगाउन नेपाली समुदायको सक्रियता प्रेरणादायी रहेको बताइन्।
कार्यक्रममा नेपाली भाषा र साहित्यमा दीर्घ योगदान पुर्याएकी जनकी रिमाल पौडेल र युवा कलाकार सम्राट गुरुङलाई ‘भानु सम्मान २०८२’ प्रदान गरिएको थियो।
विशेष अतिथि तथा अष्ट्रेलियास्थित नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै आफ्ना वृद्ध पितालाई समर्पित कविता वाचन गरेका थिए। उनले यस्ता कार्यक्रमहरूले प्रवासमा नेपाली पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण सामूहिक दायित्व भएको बताए।

नेपालबाट आएका साहित्यकार ज्ञानु वाकर पौडेललगायत अन्य स्रष्टाहरूले भानुभक्तका रचनाहरूको कविता वाचन गरे। बालबालिकादेखि युवासम्मले गीत, कविता र सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङ, समाजसेवी देवबहादुर गुरुङ, ANJA अध्यक्ष कृष्ण तिवारी, सल्लाहकार डा. राजु मानन्धर र हेउपति गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, प्रख्यात चित्रकार तथा ललितकला क्याम्पसका पूर्वप्राध्यापक राजेश मानन्धरको एकल चित्रकला प्रदर्शनीसमेत गरिएको थियो। अष्ट्रेलिया र नेपालमा सिर्जना गरिएका उनका उत्कृष्ट पानीरङ चित्रहरू प्रदर्शनीमा राखिएका थिए। चित्रकलामा पुर्याएको योगदानको कदरस्वरूप उनलाई मायाको चिनो प्रदान गरिएको थियो।
सन् २००८ देखि सिड्नीमा नियमित रूपमा भानु जयन्ती आयोजना गर्दै आएको NKSSP ले यसपटकको कार्यक्रमलाई सांगीतिक, बहुभाषिक र समावेशी स्वरूपमा प्रस्तुत गरेको जनाएको छ।
