जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व कार्यकारी निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध ५१ लाख रुपैयाँभन्दा बढी सरकारी रकम दुरुपयोग गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा चलाउन विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

आयोगका अनुसार बलराम ठाकुरले २०७५ मंसिर ५ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म कार्यकारी निर्देशकको पदमा रहँदा विभिन्न योजना, सामग्री खरिद र मर्मत कार्यको नाममा अनियमितता गरेका थिए । स्कर्पियो गाडी खरिददेखि यात्री निवास मर्मत तथा सौन्दर्यीकरणसम्मका काममा करोडौंको सरकारी रकम अनियमित रूपमा प्रयोग भएको आयोगले जनाएको छ ।
गाडी आफ्नै श्रीमतीको नाममा, भुक्तानी सरकारी खाताबाट
ठाकुरले परिषद्का लागि खरिद गरिएको बा १३ च २०३७ नम्बरको स्कर्पियो गाडी निज श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराएर सार्वजनिक पदको दुरुपयोग गरेका थिए । उक्त गाडीको भुक्तानी प्रत्यक्ष वा परोक्ष रूपमा परिषद्कै कोषबाट गरिएको पाइएको छ । भाडामा लिएको देखाई मुकेश यादवसँगको सम्झौता देखाएर १० लाख रुपैयाँ अनियमित रूपमा भुक्तानी गरिएको आयोगले जनाएको छ ।

यात्री निवास मर्मतको रकम पनि गाडी भुक्तानीमा प्रयोग
मधेश प्रदेश सरकारले यात्री निवास मर्मतका लागि दिएको ९० लाख रुपैयाँमध्ये ४५ लाख उपभोक्ता समितिलाई बिना प्रक्रिया निकासा गरिएको थियो । उक्त रकममध्ये १८ लाख ९९ हजार रुपैयाँ परिषद्का कर्मचारी कृष्ण मुरारी सिंह र चालक विक्की कुमार चौधरीको नाममा चेक काटी भुक्तानी गरिएको थियो । तीमध्ये १२ लाख ५० हजार रुपैयाँ स्कर्पियो गाडी विक्रेताको खातामा जम्मा गरिएको प्रमाण भेटिएको छ ।
सौन्दर्यीकरणको कार्य ठेकेदारबाट, रकम गाडी भुक्तानीमा
यात्री निवासको गेट निर्माण र सौन्दर्यीकरणको काम उपभोक्ता समितिमार्फत गराइएको देखाइए पनि वास्तविक रूपमा ठेकेदार जितेन्द्र कुमार यादवमार्फत काम गराइएको थियो । सोही योजनाको रकमबाट २ लाख रुपैयाँ गाडी भुक्तानीमा प्रयोग गरिएको पाइएको छ ।
इन्धन, मर्मत र भाडाको नाममा लाखौं रुपैयाँ असुली
आयोगका अनुसार ठाकुरले निजी प्रयोजनका लागि २०७६/७७ देखि २०७९/८० सम्म निजी गाडीको इन्धन, मर्मत तथा भाडाको नाममा क्रमश: ९ लाख २६ हजार, ४ लाख २६ हजार र ७ लाख २० हजार रुपैयाँ गैरकानूनी रूपमा खर्च गरेका थिए ।

छ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
सरकारी रकम दुरुपयोगको यस घटनामा संलग्न ठहर गर्दै आयोगले बलराम ठाकुर, उनकी पत्नी इन्दुलेखा कुमारी ठाकुर, मुकेश यादव, परिषद्को चालक विजय कुमार चौधरी, लेखा शाखाकी बविता देवी साह र ठेकेदार जितेन्द्र कुमार यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
कुल मिलाएर रु. ५१ लाख ७१ हजार ८४४ रुपैयाँ ७४ पैसा को सरकारी रकम हिनामिना गरिएको दाबी आरोपपत्रमा उल्लेख छ । आयोगले दोषीहरूमाथि कानुनी कारबाही गर्न विशेष अदालत समक्ष आग्रह गरेको छ ।
यो घटना जनकपुर क्षेत्रमा विकास योजनाको नाममा हुने भ्रष्टाचारको गम्भीर उदाहरणको रूपमा देखिएको छ, जसले सरकारी संयन्त्रभित्रको अनियमितता र जवाफदेहितामाथि गहिरो प्रश्न उठाएको छ ।
