क्यानबेरामा दोहोरो घर निर्माण सजिलो बन्ने, ‘मिसिङ मिडल’ आवास विकासका लागि ACT सरकारको प्रस्ताव

क्यानबेराको आवासीय ब्लकमा दोस्रो घर निर्माण गर्न अब सजिलो बन्ने भएको छ। ACT सरकारले प्रस्ताव गरेको नियोजन नियमका परिवर्तनअनुसार ब्लकको न्यूनतम साइजसम्बन्धी प्रतिबन्ध हटाइने तयारी गरिएको छ।

सन् २०६० सम्म क्यानबेराको जनसंख्या ७,८४,००० पुग्ने अनुमान गरिएको छ। ACT विधायिका सभाले गत महिना सहरको सहरी विस्तारको सिमाना तोक्न प्रस्ताव पारित गरेको थियो। त्यसपछि सरकारले आवास आपूर्तिको सन्तुलन कायम गर्न ‘मिसिङ मिडल’ भनिने आवास प्रकारमा ध्यान केन्द्रित गरेको हो। ‘मिसिङ मिडल’ आवासमा टेरेस, टाउनहाउस, डुप्लेक्स र साना अपार्टमेन्ट भवनहरू पर्छन्। सरकारद्वारा सार्वजनिक Missing Middle Housing Design Guide मा विकासकर्ता र निर्माणकर्ताहरूका लागि सिफारिसहरू प्रस्तुत गरिएको छ।

Advertisement

सरकारले Territory Plan मा पनि संशोधन प्रस्ताव गरेको छ। यसले कुन क्षेत्रमा के प्रकारको विकास हुन सक्ने भन्ने निर्धारण गर्छ। प्रस्तावमा RZ1 (सर्बसाधारण आवासीय क्षेत्र) र RZ2 (सर्बसाधारण मुख्य आवासीय क्षेत्र) मा परिवर्तन समावेश गरिएको छ। RZ1 क्यानबेराका करिब ७० प्रतिशत ब्लकमा लागू हुन्छ भने RZ2 सामान्यतया पसल, सेवा केन्द्र र मुख्य सडक नजिक पाइन्छ। प्रस्तावित परिवर्तनअनुसार एउटै ब्लकमा दुईवटा घर बनाउन न्यूनतम क्षेत्रफलको आवश्यकता हटाइनेछ। ६०० वर्गमिटरभन्दा ठूलो RZ1 ब्लकमा युनिट टाइटलिङ्गको अनुमति दिइनेछ। कानुनी रूपमा निर्माण भएको घर भएको ब्लकमा भागबन्डा गर्न सकिनेछ। धेरै ब्लकलाई एकीकृत गरी थप आवास विकास गर्न सकिनेछ। निर्माणको उचाइ, साइट कभरेज, र रूखको छायाँ कभरेज १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइनेछ।

spot_img

ACT योजना मन्त्री क्रिस स्टिलले प्रस्तावित परिवर्तनले RZ1 र RZ2 दुवै क्षेत्रमा ‘मिसिङ मिडल’ प्रकारका आवास विकास गर्न सहज बनाउने बताए। उनले आवश्यक प्रतिबन्धहरू कायमै रहने र टोलहरूको पहिचान जोगिने स्पष्ट पारे। RZ1 मा ब्लक एकीकरणबाट हुने विकास २,००० वर्गमिटरभित्र सीमित गरिनेछ, यदि त्यहाँ शहरी खुला क्षेत्र वा सामुदायिक बाटोको पहुँच छैन भने। उनका अनुसार भवनको आकार साइट कभरेज, दूरी, हरियाली क्षेत्र, र घामको पहुँचको आधारमा निर्धारण हुनेछ। Missing Middle Housing Design Guide मार्फत सडकको स्वरूप, हरियाली र सार्वजनिक खुला क्षेत्रको उपयोगलाई ध्यान दिइएको छ।

मन्त्री स्टिलले यस्तो विकास क्रमिक रूपमा हुनेछ र पूरै टोलमा एकैपटक परिवर्तन नआउने बताए। उनले केही स्थानहरूमा मात्रै यस्ता विकासका उदाहरणहरू देखिएको र प्रस्तावित परिवर्तन पनि त्यसैअनुसार हुने उल्लेख गरे।

spot_img