अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच अहिले पुनः एनआरएनएको निर्वाचनले विशेष चासो र बहस सिर्जना गरिरहेको छ। आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि उम्मेदवार घोषणादेखि प्रचार र रणनीति निर्माणसम्मको गतिविधि तीव्र भइरहेको छ। यसैसंगै एनआरएनए सदस्यता लिने अभियान पनि तिव्र भएको छ — तर धेरैको मनमा एउटा साझा प्रश्न उठिरहेको छ — “सदस्यता लिने कि नलिने?” गैर आवासीय नेपाली संघ, जसको उद्देश्य संसारभर छरिएका नेपालीहरूलाई एउटै मञ्चमा जोड्नु हो, अष्ट्रेलियामा सामाजिक, शैक्षिक, आपतकालीन सहायता र नीति वकालतमा लामो समयदेखि सक्रिय छ। कोभिड, भूकम्प वा अन्य आपतकालीन अवस्थामा यसले देखाएको भूमिका सराहनीय रहिआएको छ।

यद्यपि, संगठनभित्र गुटबन्दी, निष्क्रियता र पारदर्शिताको अभावजस्ता आलोचनाहरू पनि उठिरहेका छन्, जसले संस्थाप्रतिको विश्वासमा केही प्रभाव पारेको देखिन्छ। उम्मेदवारहरू पुराना अधुरा काम पुरा गर्ने, पारदर्शी नेतृत्व दिनेसहित विविध प्रतिबद्धतासाथ मैदानमा छन्। नयाँ पुस्ता, विद्यार्थी, महिला, व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने भनाइ छ। सदस्यता लिने फाइदाहरूमा नेतृत्व चयनमा मताधिकार, दोहोरो नागरिकताको बहसमा सहभागिता, आपतकालीन अवस्थामा प्राथमिक सहयोग र पेशागत नेटवर्क विस्तारजस्ता कुरा समेटिएका छन्। अन्ततः, निर्णय तपाईंको हो — सदस्यता लिने वा नलिने। तर सदस्यता लिनु केवल मताधिकार प्रयोग गर्ने होइन, परिवर्तनमा प्रत्यक्ष सहभागी हुने जिम्मेवार कदम पनि हो।
अबको एनआरएनए केवल नेतृत्व चयन गर्ने संस्था होइन, समुदाय निर्माणतर्फ अग्रसर हुने साझा अभियान बन्न सकोस् — यही साझा चाहना हो।





