नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मासिक रेमिट्यान्स हो । यसअघि कुनै पनि एक महिनामा यति ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो । अघिल्लो आवमा सोही अवधिमा १६.९ प्रतिशतको वृद्धिदर थियो । गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा हेर्दा यस वर्ष विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम वृद्धिदर हो (१४.८ प्रतिशत) ।
बढ्दो वैदेशिक रोजगारी, प्रविधिमार्फत सहज भुक्तानी प्रणाली, र औपचारिक च्यानलप्रतिको आकर्षणले रेमिट्यान्स वृद्धिमा सहयोग पुर्याएको विश्लेषण गरिएको छ ।
