पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच फोनवार्ता भएको छ।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार फोन गरेका हुन्। स्रोतका अनुसार, अख्तियारले मुद्दा दर्ता गरेकै दिन देउवाले प्रचण्डलाई फोन गरेर घटनाबारे जिज्ञासा व्यक्त गरेका थिए।
प्रचण्डले शुक्रबार संसद भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उक्त फोनवार्ताको विषय खुलाएका हुन्।
“देउवाजीले हिजो फोन गर्नु भएको थियो। माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो, त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,” प्रचण्डले भने, “शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं अचम्म परें। मैले त उहाँलाई पो थाहा हुनुपर्छ भनें।”
उनका अनुसार, फोनवार्ताका क्रममा केहीबेर ठट्टा पनि चलेको थियो। “देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझें,” उनले थपे।






