“एनआरएनए सदस्यता रेकर्डमा पश्चिम अष्ट्रेलिया अगाडि, पूर्वका ठूला राज्यहरू किन सुस्त?”

एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि सार्वजनिक गरिएको अद्यावधिक सदस्यता विवरणले चकित पार्ने आँकडा देखाएको छ। जुन ४ तारिख साँझ ७ बजे जारी भएको विवरणअनुसार, कुल २,२९० स्वीकृत सदस्यहरूमध्ये सबैभन्दा बढी ६४० जना पश्चिम अष्ट्रेलियाबाट रहेको पाइएको छ।

यो आँकडाले पश्चिम अष्ट्रेलियामा एनआरएन अभियानको सक्रिय उपस्थिति देखाउँछ। तर अर्को पाटोमा, जनसंख्या र नेपाली समुदायका हिसाबले प्रमुख मानिने न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरिया जस्ता राज्यहरूमा अपेक्षाकृत न्यून सदस्यता देखिनुले प्रश्न उठाएको छ।

न्यु साउथ वेल्सबाट ४७९ जना, क्वीन्सल्याण्डबाट ३९७ जना सदस्य स्वीकृत भए पनि भिक्टोरियाबाट भने मात्र ७७ जनाको सदस्यता स्वीकृत भएको छ— जुन संख्या अचम्मलाग्दो रूपमा न्यून हो।

Advertisement

संघीय राजधानी क्षेत्र (ACT) बाट २९७ जना, नर्दन टेरिटोरीबाट १८४ जना, साउथ अष्ट्रेलियाबाट ११३ जना र तास्मानियाबाट १०३ जनाको सहभागिता देखिएको छ। यी आँकडाले संघीय राजधानी क्षेत्र र केही साना राज्यहरूमा पनि सक्रियता देखाएको भए तापनि, अपेक्षित रुपमा ठूला राज्यहरूको सहभागिता नआउनु चुनौतीको विषय बनेको छ।

एनआरएनए अष्ट्रेलियाका अनुसार, हालसम्म कुल ४,८४८ सम्भावित सदस्यतामध्ये १,३८७ जनाले भुक्तानी गरिसकेका छन् तर स्वीकृति प्रक्रिया बाँकी छ। साथै, १,१७१ सदस्य ‘ड्राफ्ट’ अवस्थामा छन्— जसले सदस्यता प्रक्रिया अझै पूरा गरिसकेका छैनन्।

एनआरएन अभियानले ठूला राज्यहरूमा पहुँच विस्तार, जानकारी प्रवाह र सहभागी जनशक्ति सक्रिय बनाउन रणनीति फेरबदल गर्नुपर्ने संकेत यसले दिएको छ। अबको प्राथमिकता भनेको सुस्त रहेका राज्यहरूमा सक्रियता वृद्धि गर्नु र बाँकी प्रक्रिया समयमै टुंग्याउनु हो।

spot_img