भिजिट भिसा प्रकरणको विवाद चुलिँदै जाँदा प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन। संसद् सचिवालयका अनुसार बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
यसअघि मंगलबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो। आजको बैठक दिउँसो १ बजेका लागि तोकिएको भए पनि निर्धारित समयमा नबसी सवा ३ बजेसम्मका लागि सारिएको थियो। तर, त्यस समयमा पनि बैठक सम्भव नभएपछि अन्ततः भोलिसम्मका लागि स्थगित गरिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत दलहरूले तीव्र विरोध जनाउँदै आएका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा र घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्।
प्रतिपक्षी दलहरूको अडान रहिरहँदा सत्तारूढ दलहरू भने गृहमन्त्री लेखकलाई संसद्मा आफ्नो पक्ष राख्ने अवसर दिनुपर्नेमा जोड दिइरहेका छन्। दुबै पक्षको अडान नछोड्दा संसद् लगातार स्थगित भइरहेको छ।






