नेपालमै पहिलोपटक मस्तिष्क मृत्यु भएकाबाट मिर्गौला र कलेजो प्रत्यारोपण, सफलताको साथ बिरामी डिस्चार्ज

नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएको बिरामी शिव महर्जन उपचारपछि पूर्ण रूपमा स्वास्थ्यलाभ गरी हिजो डिस्चार्ज भएका छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा सम्पन्न उक्त प्रत्यारोपणपछि शिव महर्जन १९ दिनसम्म चिकित्सकीय निगरानीमा रहँदा स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि हिजो उनलाई अस्पतालबाट घर पठाइएको हो। यसअघि मस्तिष्क मृत्यु भएकी फूलमाया नेपालीलाई पनि केन्द्रमै मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी जेठ १४ गते नै सफलतापूर्वक डिस्चार्ज भएकी थिइन्।

Advertisement

यो ऐतिहासिक कार्य नेपालको आफ्नै प्रत्यारोपण चिकित्सकहरूको टोलीले सम्पन्न गरेको हो। शल्यक्रियाको नेतृत्व वरिष्ठ शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए। उनलाई डा. कल्पना कुमारी श्रेष्ठ (नेफ्रोलोजी), डा. दिपेश श्रेष्ठ (युरोलोजी), डा. आरती राई (एनेस्थेसिया तथा क्रिटिकल केयर), डा. सबिना श्रेष्ठ (प्याथोलोजी), डा. कृष्ण बुढाथोकी (रेडियोलोजी), डा. प्रवेश न्यौपाने (कार्डियोलोजी), र नर्सिङ निर्देशक पूजा कोइरालाको टोलीले साथ दिएको थियो।

यसका साथै, अन्य अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. रोशन घिमिरे, सघन उपचार विशेषज्ञ डा. सुवास आचार्य, इन्टरभेन्सन रेडियोलोजिस्ट डा. दिनेश चटौत, र कलेजो प्रत्यारोपण फिजिसियन डा. शेखर पौड्यालले समेत प्रत्यक्ष सहयोग गरेका थिए।

शिव महर्जन र उनका परिवारले यस्तो जटिल शल्यक्रिया नेपालमै न्यूनतम शुल्कमा, छिटो र सुरक्षित रूपमा सम्भव भएकोमा गहिरो आभार व्यक्त गर्दै भने, “यो त सपना जस्तै लाग्यो।” उनीहरूले डा. पुकारको नेतृत्वमा प्रदान गरिएको सेवा विश्वस्तरीय भएको भन्दै अंग फेल भएका अन्य बिरामीहरूलाई पनि स्वदेशमै उपचार गर्न आग्रह गरेका छन्। उक्त सफलता प्राप्त गर्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माननीय मन्त्री प्रदीप पौडेलको विशेष सहयोग रहेको जनाइएको छ। साथै, १८ वर्षीय मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवार र काठमाडौं मेडिकल कलेजलाई अंगदानका लागि विशेष धन्यवाद दिइएको छ।

spot_img