क्यानबेरा: बेलायतको ट्राभल म्यागजिन Wanderlust ले आयोजना गरेको Wanderlust Reader Travel Awards २०२५ मा अष्ट्रेलियालाई विश्वकै सबैभन्दा मनपर्ने पहिलो पर्यटकीय गन्तव्य घोषणा गरिएको छ ।
सो उपाधि Wanderlust को २३औँ वार्षिकोत्सवका अवसर म्यागजिनका पाठकहरूले गरेको प्रत्यक्ष मतदानका आधारमा छनौट गरी प्रदान गरिएको हो । अवाड्र्सले पर्यटकहरूका रुची,अनुभव र गन्तव्यप्रतिको आकर्षणलाई समेट्ने उद्देश्य रहेको जनाएको छ ।
अष्ट्रेलियालाई यो स्थान दिलाउने मुख्य कारणहरूमा यसको स्वच्छ समुद्र किनार,जैविक विविधता, रोमाञ्चक साहसिक गतिविधिहरू र बहुसांस्कृतिक वातावरणलाई मानिएको Wanderlust ले जनाएको छ । यसले अष्ट्रेलियालाई पर्यटकहरूका लागि सबै प्रकारका अनुभवहरू पाउन सकिने सम्पूर्ण गन्तव्यका रूपमा प्रचार गरेको छ ।
सूचीमा क्यानडा, जापान, अमेरिका, न्यूजिल्याण्ड र कोस्टा रिका क्रमशः दोस्रो देखि पाँचौं स्थानमा परेका छन् भने दक्षिण अफ्रिका, ब्राजिल, दक्षिण कोरिया र पेरू पनि शीर्ष १० मा स्थान बनाउन सफल भएको बताइएको छ ।
Wanderlust को यो वार्षिक सूचीले विश्वव्यापी पर्यटकहरूको गन्तव्य छनोटमा महत्वपूर्ण सन्देश दिने विश्वास गरिन्छ । विश्वभरका घुमन्तेहरूबीच अष्ट्रेलियाले आफुलाई चिनाएको र लोकप्रियता अझ बलियो बनाएको पर्यटन क्षेत्रका अभियन्ताहरुले बताएका छन् ।






