जाडोमा हृदयघातको जोखिम बढी, यसरी बच्नुहोस्

काठमाडौं । चिकित्सकका अनुसार चिसो मौसममा मुटुका धमनीहरूमा विभिन्न कारणले अवरोध हुँदा हृदयघात हुन्छ । मुटुका मुख्य तीन वटा धमनी हुन्छन् । ‘थिन फाइबर क्याप’ (पातलो पत्र) फुटेर रगतमा डल्ला डल्ला जम्मा हुन्छन् । तिनले धमनीमा रक्तप्रवाहमा अवरोध गर्छन् । धमनीमा रक्तप्रवाहमा अवरोध हुँदा हृदयघात हुन्छ ।

कतिपय अवस्थामा हृदयाघात भए पनि व्यक्तिलाई थाहा नहुन पनि सक्छ । चिकित्सकका अनुसार ठूलो धमनीमा अवरोध भएमा छातीको बीच वा देब्रेतिर बेस्सरी थिचे जसरी दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाकी लाग्छ र बेहोससम्म भइन्छ ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई समयमा नै नियन्त्रणमा राख्नसके हृदयघातको जोखिम स्वतः कम हुन्छ । शरीरको आफ्नै संयन्त्रका कारणले पनि हृदयाघात हुन्छ । जाडोमा शारीरिक गतिविधि कम हुन्छ नै । चिसो भगाउने बहानामा मदिरा, चिल्लो बोसोजन्य खाने कुरा बढी खाँदा पनि हृदयाघात हुने खतरा रहन्छ ।

मदिराले बाहिरी नशा ताते जस्तो भएपनि भित्री रूपमा न्यानो नस्ट गरिदिन्छ । यस्तो अवस्थामा पनि मुटुलाई बढी भार पर्छ र हृदयाघात हुन्छ । मधुमेह, उच्च रक्तचाप, दमका बिरामी बढी जोखिममा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, दम भएका मानिसलाई हृदयाघातको जोखिम बढी हुन्छ ।

चिकित्सकका अनुसार मोटोपन कम गर्ने, व्यायाम नियमित गर्ने, मानसिक तनाव नलिने, खानपान लगायत जीवनशैलीमा सुधार गर्ने, नियमित स्वास्थ्य जाँच र औषधि सेवन गरे हृदयघातको जोखिमबाट बच्न सकिन्छ ।

यी लक्षण देखिए हृदयघातको जोखिम
व्यायाम गर्दा, उकालो चढ्दा, भर्‍याङ चढ्दा, कडा व्यायाम गर्दा छातीको देब्रेतिर भारी हुने, गह्रौं चिजले थिचे जस्तो हुने, स्वाँस्वाँ बढ्ने र आराम गरेपछि सामान्य हुने जस्ता लक्षण देखिएमा हृदयघातको जोखिम भएको अनुमान गर्न सकिन्छ ।

यस्ता कुनै पनि लक्षण देखिएमा समयमै मुटुको जाँच गरिहाल्नु पर्ने चिकित्सक सुझाउँछन् । ४० वर्ष उमेर कटिसकेका व्यक्तिले यी कुनै लक्षण नेदखिएपनि वर्षको एक पटक मुटुसहित पूर्ण स्वास्थ्य जाँच गराउनुपर्छ ।