अष्ट्रेलियाभर आप्रवासनविरोधी प्रदर्शन, मेलबर्नमा झडप

spot_img

अष्ट्रेलियाका प्रमुख शहरहरूमा आइतबार आप्रवासनविरोधी प्रदर्शन (March for Australia) व्यापक रूपमा आयोजित भएको छ। हजारौँको सहभागितामा भएको प्रदर्शनलाई केही दक्षिणपन्थी, श्वेत वर्चस्ववादी र नव–नाजी समूहले समर्थन गरेको आरोप लागिरहेको छ। आयोजकहरूले भने आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै चरमपन्थी संगठनसँग सम्बन्ध नभएको दाबी गरेका छन्।

मेलबर्नमा आप्रवासनविरोधी र प्यालेस्टाइन समर्थकबीच झडप

मेलबर्नको CBD मा आप्रवासनविरोधी प्रदर्शनमा Free Palestine Rally बाट आएका प्रदर्शनकारीहरू सहभागी भएपछि झडप भएको थियो। प्रहरी प्रशासनले भिड नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै काउन्टर–प्रदर्शनलाई कोलिन्स स्ट्रीटतर्फ धकेलेर ‘March for Australia’ प्रदर्शनबाट अलग राख्ने प्रयास गरेको थियो। झडपका क्रममा केही हाताहात र धक्का–मुक्की भए पनि ठूलो हिंसा भने नभएको प्रहरीले जनाएको छ।

सिड्नी, ब्रिसबेन, न्युकासललगायतमा प्रदर्शन

सिड्नी, ब्रिसबेन, एडिलेड, पर्थ र न्युकासलमा पनि आप्रवासनविरोधी प्रदर्शन भएको छ। सिड्नीमा प्रदर्शन बेलमोर पार्कबाट सुरु भई भिक्टोरिया पार्कतर्फ पुगेको थियो। सोही बेला Prince Alfred Park बाट सुरु भएको शरणार्थी समर्थक प्रदर्शन पनि बेलमोर पार्क हुँदै हाइड पार्कमा पुग्दा दुईवटा प्रदर्शन आमनेसामने भएका थिए। ब्रिसबेन र न्युकासलमा भने प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

प्रतीकको रूपमा झण्डा र विवाद

फ्लिन्डर्स स्ट्रीट स्टेशन अगाडि भएका प्रदर्शनमा केही प्रदर्शनकारीहरूले Red Ensign झण्डा बोकेका थिए, जुन सामान्यतया अष्ट्रेलियाली जहाजहरूले समुद्रमा प्रयोग गर्ने झण्डा हो। पछिल्ला वर्षहरूमा यो झण्डा विभिन्न विरोध र सरकारविरोधी प्रदर्शनमा प्रयोग हुँदै आएको छ। कतिपयले यसलाई उल्टो बोकेका थिए, जुन देश संकटमा परेको संकेतको रूपमा मानिन्छ।

नेताहरूको प्रतिक्रिया

विक्टोरियाकी प्रिमियर जसिन्ता एलनले बहुसांस्कृतिक गालामा बोल्दै प्रदर्शनलाई अस्ट्रेलियाली मूल्य र पहिचानसँग बेमेल भएको बताइन्। उनले भनिन्, “अस्ट्रेलिया नाजीहरूसँग हिंड्ने देश होइन। यो देश नाजीहरूसँग युद्ध लडेर विजयी भएको राष्ट्र हो।”

विक्टोरियाका विपक्षी नेता तथा प्रहरी मामिला मन्त्री डेविड साउथविकले अहिले चलिरहेको प्रहरी म्यानहण्टकैबीच ठूलो संख्यामा स्रोत प्रयोग गर्नुपर्ने बाध्यता आएको भन्दै सरकारलाई आलोचना गरेका छन्।

संघीय विपक्षी नेता सुसन लेयले पनि प्रदर्शन शान्तिपूर्ण रहन आग्रह गर्दै भनिन्, “हिंसा, जातिवाद वा धम्कीको कुनै स्थान अष्ट्रेलियामा छैन। हामी सामाजिक एकतालाई नफाट्ने गरी अघि बढ्नुपर्छ।”

न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले सिड्नीमा व्यस्त र तनावपूर्ण दिन हुन सक्ने भन्दै नागरिकहरूलाई नआत्तिन आग्रह गरे। उनले भने, “गत दुई वर्षमा प्रहरीले यस्ता चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा र प्रदर्शनबीच सन्तुलन कायम गर्न सक्षम भएको प्रमाणित गरेको छ। यसपालि पनि उनीहरूले जिम्मेवारी निभाउने विश्वास छ।”

अष्ट्रेलियाभर भइरहेको आप्रवासनविरोधी प्रदर्शनले देशको बहुसांस्कृतिक मूल्य र आप्रवासन नीतिबारे पुनः बहसलाई चर्काएको छ। मेलबर्नमा झडपसँगै प्रदर्शन विवादमा तानिएको भए पनि अन्य शहरहरूमा प्रदर्शन प्रायः शान्तिपूर्ण देखिएको छ। नेताहरूले भने यस्ता आन्दोलनले अस्ट्रेलियाली समाजमा विभाजन र द्वेष बढाउन सक्ने चेतावनी दिएका छन्।

spot_img